काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बालुवाटार केन्द्रित प्रदर्शन आज जारी छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।
प्रदर्शनमा उत्रिएका रास्वपाका ३ दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रदर्शनका क्रममा निषेधीत क्षेत्र तोड्न खोज्ने रास्वपाका नेता पुकार बमलगायत नेता–कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रास्वपा मकवानपुरको हेटौँडा उपमहानगर सभापति ध्रुवबहादर विष्ट, मकवानपुरका क्षेत्रीय सभापति सुरेश थापालगायत कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरुलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ।
प्रदर्शनको सुरुमै केही नेता कार्यकर्ता पक्राउ परेपनि अहिले निषेधित क्षेत्र नजिक रास्वपाको प्रदर्शन जारी छ। सो क्रममा नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
सभापति लामिछाने पक्राउ परेसँगै रास्वपाले कात्तिक २ गतेदेखी निरन्तर प्रदर्शन गर्दै आएकोमा आज बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।