Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारबारे शून्य सहनशीलताको नीतिमा सरकार, काखापाखा नगरी अनुसन्धान गर्न सांसदहरूको सुझाव, प्रमुख आयुक्त राई भन्छन्– अख्तियार एक्लैले नियन्त्रण गर्न सक्दैन (खास खबर)

भ्रष्टाचारबारे शून्य सहनशीलताको नीतिमा सरकार, काखापाखा नगरी अनुसन्धान गर्न सांसदहरूको सुझाव, प्रमुख आयुक्त राई भन्छन्– अख्तियार एक्लैले नियन्त्रण गर्न सक्दैन (खास खबर)

  • सोमवार, कार्तिक १२ २०८१

  • 667
    SHARES

  • भ्रष्टाचारबारे शून्य सहनशीलताको नीतिमा सरकार, काखापाखा नगरी अनुसन्धान गर्न सांसदहरूको सुझाव, प्रमुख आयुक्त राई भन्छन्– अख्तियार एक्लैले नियन्त्रण गर्न सक्दैन (खास खबर)
    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भयो। सो छलफलमा अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई पनि बोलाइएको थियो । छलफलमा सांसदहरूले भ्रष्टाचारजन्य कसुरमा काखापाखा नगरी अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका छन् ।
     
    सिंहदरबारमा बसेको बैठकमा उनीहरूले भ्रष्टाचारका सबै प्रकरणमाथि अनुसन्धान हुनुपर्ने र काखापाखा नगरी कारबाहीको प्रक्रिया अघि बढाउन सुझाव दिएका हुन् । सांसदहरूले नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा दान भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सोधेका छन् ।  छलफलका क्रममा माओवादी सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान लिनु भ्रष्टाचार भएको बताउनुभयो ।
     
    व्यवसायी गुरुङले दान गरेको कीर्तिपुर नगरपालिकास्थित जग्गामा पार्टी कार्यालय शिलान्याससमेत भइसकेको छ । प्रधानमन्त्री ओली र उहाँकी पत्नी राधिका शाक्यसँगै व्यवसायी गुरुङ दम्पतीले दसैँको अष्टमीको दिन भवन शिलान्यास गर्नुभएको थियो । सांसद राईले  ‘सत्तारूढ दलले जग्गा किन लिएको ? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ?’ भन्दै समितिमा प्रश्न गर्नुभयो । 
     
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग अनिवार्य हुने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको बैठकमा भएको छलफलमा भाग लिँदै प्रमुख आयुक्त राईले अति जटिल कामहरू र सहजै हुने विकासका काममा सोही अनुसारको प्रावधान राख्नुपर्ने बताउनुभयो ।
     
    साथै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको बताउनुभयो।  ‘अख्तियार एक्लैले भ्रष्टाचार कन्ट्रोल गर्न सक्दैन । यसमा सबैको सहयोग चाहिन्छ’, प्रमुख राईको भनाइ छ ।
     
    बैठकमा गृहमन्त्री रमेश लेखकले अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकता रहेको बताउनुभएको थियो । ‘यो विधेयकलाई समितिले पनि प्राथमिकता दियोस् भन्ने आग्रह छ । आगामी अधिवेशनमा प्रतिनिधि सभामा पेस हुने वातावरणको लागि आग्रह छ ।’ गृहमन्त्री लेखकले भन्नुभयो ।
     
    बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले सरकारको कामकारबाही एक पक्षीय देखिएको बताउनुभएको थियो ।
    त्यस्तै सांसद चन्दा कार्की भण्डारीले रवि लामिछाने पक्राउपछि विरोध जनताले विरोध गरेको रास्वपाले न्यायपालिका प्रभावित गर्न नखोजेको जिकिर गर्नुभयो । त्यस्तै सांसद सरिता प्रसाईंले स्वार्थ बाझिने गरी व्यवसायीहरूबाट उपहार लिने र दिने दुवैलाई कारबाही हुनुपर्ने बताउनुभयो ।
     
    त्यस्तै सांसद हृदयराम थानीले गिरिबन्धु, क्यानटोन्मेट, ललिता निवास, वाइडवडी, यति, ओम्नीको अनुसन्धानको जवाफ सरकारले दिन सक्नुपर्ने बताउनुभएको थियो ।  त्यस्तै अन्य केही सांसदहरूले अनुसन्धानका नाममा सरकारले विभेद गर्ने गरेको र विभिन्न भ्रष्टाचारजन्य प्रकरणको फाइल टुङ्गोमा पुग्नेमा आशङ्का व्यक्त गरेका थिए ।
     


    सोमवार, कार्तिक १२ २०८१०८:२२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij