काठमाडौं । कांग्रेस र एमाले मिलेर बनेको सरकारविरुद्ध प्रतिपक्षी दलहरुले घेराबन्दी शुरु गरेका छन् । आफ्नो पार्टीका सभापति रवि लामिछानेको पक्राउमा आक्रामक बनेको रास्वपाले देशका विभिन्न जिल्लामा आन्दोलन गरिरहेको छ । आज प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि काठमाडौंमा बृहत्त प्रदर्शनसहित कोणसभा गरेको छ । उसले सरकारका एकसय दिन निराशाजनक रहेको बताउँदै सच्चिन आग्रह गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी केन्द्रले १३ वटा विषयलाई उठाएको बताउँदै सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले भ्रष्टहरुको संरक्षण गरिरहेको आरोप लगाउनुभयो । यो गठबन्धनले मुलुकमा राजनीतिक व्यवस्थापन गर्न नसक्ने प्रचण्डको भनाइ रहेको छ ।
सरकारलाई खबरदारी गरेर प्रतिपक्षीको भूमिकालाई बलियो बनाउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खानको भनाइ रहेको छ । माओवादी लगायतका दलहरुले त्यो धर्म निर्वाह गरिरहेको उहाँको दाबी छ । प्रतिपक्षीका जायज मागहरुलाई सरकारले स्वीकार गर्ने बताउँदै उहाँले अहिलेको गठबन्धनले सबै बिगार्यो भन्नु मूर्खता हुने उहाँको तर्क रहेको छ ।
कांग्रेस–एमाले गठबन्धन बनेको एकसय दिनमै विभिन्न खालका उतारचढावहरु आएका छन् । सरकारले त्यसलाई गम्भीरताका साथ लिन नसकेको प्रतिपक्षी दलहरुको आरोप रहेको छ । दुई ठूला दलहरुको यो सहकार्यले राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा ध्यान दिन जरुरी रहेको छ । आमजनतामा रहेको निराशालाई चिर्नु पनि अहिलेको सरकारको चुनौति हो ।