काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले पनि अनुमति दिएको छ ।
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले आज बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको हो। पोखरा प्रहरी हिरासतमा रहेका रवि र छविलाल जोशीलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आजै सात दिनको म्याद दिएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगिएको विषयमा नेटवर्कका उपाध्यक्ष जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने रवि पनि अहिले पोखरा नै छन्।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल लगेको थियो। बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा दुई करोड ५० लाख रुपैयाँ गएको छ।
त्यस्तै, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति लामिछानेका नाममा दुई करोड रकम गएको अनुसन्धानमा देखिएको छ। अदालतको पक्राउ अनुमतिसँगै रविलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ।