काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर अहिले कास्की प्रहरीको हिरासतमा छन्। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताईरहेको छ। यता सत्तापक्षले भने रवि लामिछाने पक्राउ पर्नुलाई हल्ला र चर्चाको विषय बनाउनुपर्ने कुरा नै नभएको बताउँछ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अधिवक्ता यज्ञमणि न्यौपाने राजनीतिक पूर्वाग्रहका आधारमा रवि लामिछानेलाई पक्राउ गरिएको बताउनुहुन्छ ।
लामिछानेलाई संसदीय छानविन समितिको प्रतिवेदन विपरीत पक्राउ गरिएको तर्क उहाँको छ। अनुसन्धानको नाममा राजनीतीकरण नगर्न उहाँको सुझाव छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले दिएको निर्देशनबमोजिम सरकारले सहकारी ठगी प्रकरणमा पीडितलाई न्याय दिनेगरि कदम चालेको बताउनु भएको छ । उहाँले रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पूर्ण रुपमा राजनीतिकरण गरेको आरोप लगाउनुभयो।
रवि लामिछानेले पक्राउ पुर्जी जारी हुनेबित्तिकै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपलाई बर्तौलाले गलत र तथ्यहीनको संज्ञा दिनुहुन्छ ।
रवि लामिछानेमाथि अहिलेमात्रै नभएर यसअघि पनि पटक पटक आरोप लाग्ने गरेको र काण्डहरु आउने गरेको बर्तौलाको भनाई छ ।
वरिष्ठ अधिवक्ता एवं माओवादी केन्द्रका नेता रामनारायण बिडारीले रवि लामिछाने पक्राउ पर्नुलाई हल्ला र चर्चाको विषय बनाउनुपर्ने कुरा नै नभएको बताउनुभएको छ ।
नेपाली गरिव जनताको अरवौ रुपैँया अपचलन गरेर र मिडिया चलाएर सुरुका दिनदेखि अहिलेसम्म एकलौटी रुपमै विवादीत ब्यक्ति लामिछानेको अनुसन्धानविरुद्धमा लाग्नु भनेको रास्वपा पार्टी नै बदनाम भएको वरिष्ठ अधिवक्ता बिडारीको तर्क रहेको छ ।
रास्वपाका कार्यकर्ताले जस्को नेतृत्वमा रहेका छौ त्यो सधैं किन र के कारणले विवादमा रह्यो भन्ने कुरा एकपटक बुझ्न आवश्यक रहेको पनि उहाँको सुझाव रहेको छ ।
रास्वपा समर्थकले आज पोखरा, काठमाडौं लगायतका ठाँउमा प्रदर्शन गरेका छन् ।पार्टी सभापति लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको भनाइ छ ।उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाएका छन्।
गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।हिजो काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा पु¥याइएको थियो।
उनलाई स्वास्थ्य जाँच गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। आज शनिबार सार्वजनिक बिदा भएकोले भोलि आइतबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।