Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

  • शुक्रवार, कार्तिक २ २०८१

  • 604
    SHARES

  • रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
     
    सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले रविमाथि कारबाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उहाँलाई दोषी ठहर्‍याइएको छ ।
     
    आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पुर्जी लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुभएको थियो । अदालतमा उपलब्ध एक मात्र न्यायाधीश कृष्णजंग साहले पक्राउका लागि अनुमति दिनुभएको हो ।
     
    सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
     
    सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।
     
    पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक हुनुहुन्थ्यो । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गर्नुभएको हो ।
     
    जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग हुनुभएको हो। उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
     
    प्रहरीसँगको बयानमा जोशीले आफ्नो घर धितो राख्न खोजेपछि कुरा नमिलेको र त्यसपछि गोर्खा मिडियाबाट अलग भएको बताएका छन् ।


    शुक्रवार, कार्तिक २ २०८१०५:१८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij