काठमाडौं। गौशालाको चोकैमा १० रोपनी जग्गाको भाडा महिनाकै लाखौं पर्छ । तर, मारवाडी सेवा समितिले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँभन्दा बढी आर्जन गर्छ ।
मन्दिरमा अरू दान गर्छन् । हामी कहाँ मन्दिरको सम्पत्ति भाँती पु¥याएर खाइन्छ । गौशाला धर्मशाला यसको उदाहरण हो । यो भूभाग लामो समयदेखि परिषद्को अघोषित कब्जामा छ ।
राणाकालमा रतिराम अग्रवाललाई पाशुपत क्षेत्रमा छोडिएका दूध कटुवा बाच्छाबाच्छी, साँढे र गाई पाल्ने सर्तमा एक रोपनी आठ आना जग्गा दिइएको थियो । त्यसकै आडमा परिषद्ले अनेक बहाना बनाउँदै नौ रोपनी नौ आना जग्गा धर्मशालाका लागि भन्दै प्रयोग गरिरहेको छ ।
हालै मात्र काठमाडौं जिल्ला अदालतले २०६० सालमा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको छ।
यससँगै पशुपतिको गौशाला धर्मशाला अब काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने सहमति भएको छ । पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरले सञ्चालन गर्नेगरी सहमति गरेपछि आज काठमाडौं महानगरले पशुपति क्षेत्रको गौशाला धर्मशाला मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ ।
‘काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।
पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा मारवाडीहरूले प्रतिवाद गरेका थिए । मारवाडी सेवा समितिले गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरीसँग धर्मशाला खाली गराउनुपर्ने अफिसियल पत्र मागेको थियो।
यसअघि मारवाडी सेवा समितिसँगको लिज रद्द गर्दै पशुपति क्षेत्र विकास कोषले धर्मशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्न लागेको हो । समितिले न्यून भाडामा धर्मशाला सञ्चालन गरी सटरहरू भाडामा लगाएको थियो ।
अब कुनै पनि संरचना भाडामा लगाउन नपाउने गरी महानगरपालिकासँग मिलेर सञ्चालन गर्न लागिएको कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताउनुभयो । उहाँले धर्मशालालाई व्यापारिक उद्देश्यले नभई सामाजिक सेवाका उद्देश्यले सञ्चालन गर्ने सहमति अनुरूप त्यसलाई खाली गराउन खोजेको बताउनुभयो ।
यता मारवाडी सेवा समितिले काठमाडौं महानगरपालिकाले पशुपति गौशाला धर्मशाला खाली गर्न निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ । समितिले पशुपति गौशाला धर्मशालासँगको करार रद्द गर्ने पशुपति क्षेत्र विकास कोषको निर्णयमा अदालतमा पुनरावेदनमा जाने अधिकार भएकाले अहिले बाधा अड्काउ नगर्न आग्रह गरेको हो ।
मारवाडी सेवा समिति धर्मशालामा आफूहरू भाडामा नभई मोहीका रुपमा रहेको भन्दै २०८० साउन १७ गते पशुपति क्षेत्र विकास कोषले गरेको करार रद्दको निर्णय विरुद्ध अदालतमा गएको थियो । तर, अदालतले समेत दाबी नपुगेको भनेपछि पुनरावेदनमा जाने तयारी भएकाले तत्काल आफूहरूलाई हटाउन नमिल्ने मारवाडी सेवा समाज नेपालका पूर्व अध्यक्ष कैलाशचन्द्र गोयलले दाबी गर्नुभयो ।
पशुपति विकास कोष र काठमाडौं महानगरबीच भएको सम्झौता अनुसार अब काठमाडौं महानगरपालिकाले धर्मशालाको सञ्चालन गर्ने छ । यसअघि मारवाडी सेवा समितिलाई पशुपतिनाथको सम्पत्ति कौडीको भाउमै सुम्पिएको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका थिए ।
गौशाला धर्मशालामा मारवाडी सेवा समितिले सञ्चालन गरेको कार्यको चौतर्फी विवाद हुँदै आएकोमा अब काठमाडौं महानगरले भने विवादरहित कार्य गर्नुपर्ने चुनौती छ । पशुपति क्षेत्र विकास कोषले भने धर्मशाला व्यवस्थित रूपमा सञ्चालन गरिने दाबी गरेको छ ।