काठमाडौं । औसत भन्दा बढी वर्षा हुँदा विभिन्न ठाउँमा गएको बाढीपहिरोले सडक सञ्जालहरूलाई विच्छेद गराएको छ । दसैँका लागि घर जाने यात्रुहरूले सहज यात्रा गर्न पाएका छैनन् । धेरै मानिसहरूले अकालमा ज्यान गुमाउनु परेको छ भने कैँयन घरबारविहीन भएका छन् । धेरै घाइते भएका छन् । खासगरी यसपटकको दसैँ आम नागरिकका लागि पीडा बोकेर आएको छ । यसपाली सहकारी पीडितहरूले पनि दसैँ कसरी मनाउने सोच्न सकेका छैनन् । निकै मेहनत गरेर दश बिस रुपैयाँ जम्मा पारेको रकम सहकारी क्षेत्रभित्र प्रवेश गरेका बिचौलियाले झ्वाम पारेका छन् । सरकारले पनि सहकारी पीडितका पीडामा मलहम लगाउन सकेको छैन । उल्दै दोषीहरूलाई उन्मुक्ति दिन खोजेको आरोप लागेको छ । एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले दोषी कुनैपनि हालतमा नछुटी पीडितका पीडामा मलहम लगाउनुपर्ने बताउनुभयो ।
यो मुलुकमा बसोबास गर्ने विभिन्न वर्गका व्यक्तिहरूको दसैँ आफ्नानै गक्ष अनुसारको हुने गर्दछ । बडादसैँमा सबैको चुल्होमा मीठो मसिनो पाकेको हुन्छ । मीठो मसिनो खाने र नयाँ लुगाकपडा किन्ने आशालाई विपत्तिले चकनाचुर गरेको छ भने कतिपयको बचत सहकारीले अपचलन गरिँदिँदा पीडामाथि थप पीडा थपेको छ । निम्न आयस्रोत भएका व्यक्तिहरूले एक मुठो साग र पोलेको मकै बेचेर जम्मा पारेको रकम लुटेर ठगहरू विभिन्न देशमा लुकेका छन् । सरकारले ती ठगहरूलाई पक्राउ गरेर पीडितको रकम फिर्ता दिने वातावरण निर्माण गर्न सकेको छैन । हातमुख जोर्नलाई दश बिस रुपैयाँ जम्मा पारेको रकम अपचलन गर्नेहरूलाई कारबाही गर्नुपर्ने नागरिक सचेतक चरण प्रसाईँ बताउनुहुन्छ ।
तीन खम्बे अर्थनीति अन्तर्गत सहकारीले पनि निकै ठुलो हिस्सा ओगटेको छ । विडम्बना यहीँ क्षेत्र धराशायी बन्दा नागरिकहरूको बिल्लीबाँठ भएको छ । सरकारले यो विषयमा ध्यान दिन जरुरी रहेको छ । यदि नागरिकका पीडामा मलहम लगाउन नसके सरकार भएको अनुभूति जनताले पक्कै गर्ने छैनन् ।