काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशव्यापी दौडधुपमा जुट्नुभएको छ। नेपाली राजनीतिमा आफू चर्चामा आइरहनका निम्ति प्रचण्डले विभिन्न तिगडम गरिरहेको भेटिन्छ ।
प्रधानमन्त्री रहँदा आफूलाई बलियो बनाइराख्न निर्माण गरेको समाजवादी मोर्चा बीचमा ओझेलमा प¥यो, अहिले पुनः त्यहीँ मोर्चालाई सक्रिय बनाउन उहाँको सक्रियता बढेको छ। देशका विभिन्न ठाउँमा पुगेर उहाँले अहिले पनि आफै जनताको प्रधानमन्त्री भएको अनुभूति भइरहेको बताउँदै आउनुभएको छ ।
यतिमात्र होइन, प्रधानमन्त्रीबाट पदमुक्त भएपछि प्रचण्ड समाजवादी मोर्चालाई बलियो बनाउन लागिपर्नुभएको छ । राजनीतिक विश्लेषक महेश भट्टराईले प्रचण्डको सक्रियतामा शंका व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको जिम्मेवारी छाडेको भोलिपल्ट नै उहाँले समाजवादी मोर्चाको बैठक डाक्नुभएको थियो । एकीकृत समाजवादीको मुख्यालयमा बसेको बैठकमा मोर्चाले कांग्रेस–एमालेको गठबन्धन देश र जनताका लागि प्रतिकूल रहेको निष्कर्ष निकालेको थियो ।
संविधान संशोधन गरेर प्राप्त उपलब्धि उल्ट्याउने गरी कांग्रेस एमालेको गठबन्धन बनेको मोर्चाको आरोप छ । यसविरुद्ध जनतामा जागरण फैल्याउने निर्णय पनि मोर्चाले गरेको छ । राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले अहिलेको प्रचण्ड सक्रियताले खासै फरक नपार्ने दाबी गर्नुभयो ।
महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी समाजवादी मोर्चामा आबद्ध भएको छ । जसपा नेपाल, राष्ट्रिय जनमोर्चासहित वामपन्थी र समाजवादी दलहरूलाई पनि समाजवादी मोर्चामा भित्र्याउने तयारी छ ।
यसरी मोर्चालाई सफल बनाउन लागिपरेका प्रचण्डले अहिले आफू कमजोर भएको आभास गर्नुभएको छ । भर्खरै आएको विपत्तिमा पनि सरकारले पूर्वतयारी गर्न नसकेको उहाँको आरोप छ । अहिलेको सक्रियताले प्रचण्डलाई कहाँसम्म पु¥याउँछ त्यो भने हेर्न बाँकी नै छ ।