काठमाडौं । पार्टीभित्र देखिएको विवाद टुंग्याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तयार भएका छन् । देउवा निवासमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले असमझदारीहरू हल गर्ने सहमति भएको छ ।
केन्द्रीय समिति बैठकमा सहमतिको प्रस्ताव पेश गर्न समन्वयको भूमिका खेल्नेगरी महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ । पार्टीभित्रका विवाद र महाधिवेशनबारे आवश्यक निर्णय गर्न कांग्रेसले यही बिहीबार केन्द्रीय समिति बैठक राखेको छ ।
उक्त बैठक बस्नुअघि नै महामन्त्रीद्वय कोइराला र खड्काले सभापति र वरिष्ठ नेतासँग छलफल गरी केन्द्रीय समितिमा पेश गर्ने खाका बनाइसक्नेछन् । अहिलेसम्मका छलफलबाट अविश्वास र आशंकाहरू हटेकोले अब मिलेरै अगाडि बढ्नेमा नेताहरूबीच सैद्धान्तिक सहमति जुटेको महामन्त्री खड्काले बताउनुभयो ।
यसअघि बसेका पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरूले विवाद हल गर्न र महाधिवेशनबारे आफ्ना धारणा राखेका थिए । महामन्त्री खड्काले दिएको जानकारीअनुसार सहमतिका प्रस्तावबारे आजदेखि नै दुई पक्षका नेताबीच छलफल सुरू भएका छन् ।