काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।
प्रचण्डनिवास खुमलटारमा भएको भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको बताइएको छ ।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई लिखितपत्र बुझाएका थिए ।
प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागिमात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको महासचिव पौडेलमार्फत बताउनुुभएको स्रोतको भनाइ छ ।
उहाँले विधानको प्रावधान यो प्रसंगमा आकर्षित नहुने पनि बताए । बहुमत सचिवालय सदस्यले माग गरेअनुसार प्रधानमन्त्री ओलीले चाँडै सचिवालय बैठक बोलाउनुपर्ने पनि प्रचण्डले बताउनुभयो ।
प्रचण्ड–नेपाल पक्षका एक स्थायी समिति सदस्यका अनुसार प्रधानमन्त्री ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी छ । उक्त सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गर्ने र त्यसपछि जे निर्णय गर्ने हो स्थायी समितिले नै गर्ने बताइएको छ ।
यसैबीच, नेकपाभित्र देखिएको विवादमा केन्द्रीय अनुशासन आयोगले चासो व्यक्त गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहोराले तत्काल पार्टी बैठक बोलाउन पार्टी अध्यक्षद्वयलाई आग्रह छन् ।
आज एक विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष बोहोराले ‘पार्टीका जिम्मेवार नेतृत्वगण प्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन्’, बोहोराले भन्नुभएको छ ।
उहाँले पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पनि आग्रह गर्नुभएको छ ।
उहाँले लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका महत्वपूर्ण रहिआएको भन्दै समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई कसैले इन्कार गर्न नमिल्ने स्मरण गराउनुभएको छ ।
यता, नेकपा अध्यक्ष प्रचण्डनिकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि अर्का अध्यक्ष ओलीले डाकेको कार्यदलका सदस्यहरुसँगको बैठक स्थगित भएको छ ।ओलीसँग छलफल गर्न भन्दै कार्यदलका सदस्य खासगरी ओलीनिकट शंकर पोखरेल, विष्णु पौडेल र नेपालनिकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए ।