काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभएको छ । नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्ले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय गरेपछि कतिपयले सरकारको आलोचना भएको छ । संसदको राज्य व्यवस्था समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको औपचारिक नाम नेपाल नै भएकोले यसमा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभएको हो ।
उहाँका अनुसार नयाँ संविधान जारी गरेपछि औपचारिक रुपमा नेपालको नाम नै परिर्वतन गर्ने निर्णय भएको छ कि भनेर खोजी पनि गरिएको थियो । तर देशको नाम परिर्वतनबारे कुनै निर्णय नभएको र संविधानमा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नभनिएको मन्त्री ज्ञवालीले प्रष्ट पार्नुभयो ।
कतिपयले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, कतिपयले नेपाल मात्र लेख्ने गरेकाले एकरुपता ल्याउन सरकारले नेपाल मात्र लेख्ने निर्णय गर्नु परेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभइ हामीले अवलम्बन गरेको राज्य प्रणाली भएको र, सरकारले राज्य प्रणालीबारे नभइ नामका सम्बन्धमा निर्णय गरेको मन्त्री ज्ञवालीको भनाइ छ ।