काठमाडौं। सत्तासीन दल नेकपा एमाले र नेपाली कांग्रेस तानाशाही बन्न खोजेको भन्दै प्रतिपक्षी दल एक ठाउँमा उभिने कसरतमा जुटेका छन्। विशेष गरी नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई विश्वासमा लिएर मोर्चाको तयारी गरेका हुन् ।
भ्रष्टाचारको फाइल खोल्दा आफू नेतृत्वको सरकार ढालेको बताउँदै आएका दाहालले प्रतिपक्ष कित्तालाई बलियो बनाउन खोजेका हुन् । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफूहरुसँग एजेण्डा मिल्नेसँग मोर्चाबन्दी गर्ने क्रम शुरु गरिएको बताउनुभयो ।
प्रचण्डले आफू सत्ताबाट बाहिरिएपछि समाजवादी मोर्चालाई ब्युँताइसकेका छन् । मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, प्रभु साह नेतृत्वको आजपासहित विचार मिल्नेहरूलाई भित्र्याउने गरी छलफल चलिरहेको छ । एमालेका सांसद भीम आचार्यले प्रतिपक्षी दलहरुले मोर्चाबन्दै गर्ने विषय सामान्य रहेको दाबी गर्नुभयो ।
सरकारबाट बाहिरिएपछि अघोषित मोर्चाबन्दीमा देखिएका माओवादी र रास्वपाले दुवैले सडक आन्दोलनसम्मका लागि पार्टी पंक्तिलाई उर्दी जारी गरेका छन् । कांग्रेस–एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी थालेपछि माओवादी प्रतिरोधमा उत्रियो ।
अहिले सहकारीको रकम अपचलन गरेको मुद्दामा मुछिएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि माओवादी नेताहरुले चर्को विरोध जनाएका छैनन् । ओली सरकारमा जाँदा प्रायः प्रतिपक्षी दल र सहयात्री दललाई समेत बेवास्ता गर्ने गरेका आरोप लाग्ने गरेको छ । पछिल्लो समय त ओली थप शक्तिशाली भएका कारण प्रतिपक्षी दलहरु आत्तिएका हुन् ।