काठमाडौं । भनिन्छ, एकपटक सबैको दिन आउँछ, बारम्बार कसैको सुदिन नआउन सक्छ । नेपाली राजनीतिमा पनि यस्ता पात्रहरु छन् कुनैबेला निकै चर्चित त कुनै बेला टर्च लगाएरै खोज्नुपर्ने अवस्थासम्म । विगतमा पनि यस्ता धेरै पात्रहरुको नेपाली राजनीतिमा जन्म भयो, कति अस्ताए, कति बाँकी छन् तर नाम निशाना कमै भेटिन्छ । नेपालको राजनीतिमा पछिल्लो समय चर्चित बनेका एक अनुहार हुन् हालका प्रधानमन्त्री केपी शर्मा ओली । अहिले चौथो पटक सरकारको नेतृत्व गरिरहेका ओलीको काम कारबाही उत्साहप्रद नदेखिएको भन्दै आलोचना शुरु हुन थालेको छ । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालका अनुसार नेताहरूको लोकप्रियता खस्किँदै गएको र जनताहरुको महत्त्वाकाङ्क्षा बढ्दै गएको छ ।
राजनीतिक विश्लेषक भेषराज घिमिरेले अहिलेकै अवस्थाले मुलुकमा भयावह निम्तिने दाबी गर्नुभयो । संविधान संशोधनका नाममा बनेको गठबन्धनले पनि काम गर्न नसके थप अलोकप्रियता बढ्ने उहाँको दाबी छ ।
जनतामा बढ्दो आक्रोश व्यवस्थाविरुद्ध नभइ नेता केन्द्रित भएको छ । असोज ५ गते प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वागतमा न्यूयोर्कस्थित नेपाली समुदायले आयोजना गर्न लागेको कार्यक्रम अन्तिम समयमा स्थगित भयो । तर सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरियो । एमाले नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अमेरिकाको कार्यक्रम स्थगित हुनु अन्तर्राष्ट्रिय लज्जा भएको बताउनुभयो ।
भदौ १० गते गौरा पर्वको अवसरमा राजधानीको खुलामञ्चमा कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री ओली रहनुभएको थियो । सोही कार्यक्रमा विशेष अतिथि बनेर पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा पुग्नुभएको थियो । ओली र देउवाविरूद्ध प्रदर्शन भएपछि कार्यक्रम नै प्रभावित भएको थियो । घुमीफिरी असफल भएका अनुहारहरू नै पटकपटक सत्तामा आएका कारण नेताहरू अलोकप्रिय भएको पोखरेलको निष्कर्ष छ ।