काठमाडौं । नेपाली काँग्रेसले पार्टी भित्र सृजना भएको सदस्यता सम्वन्धी विवाद मिलाउन छुट्टै समिति बनाउने भएको छ । पार्टीका पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकले सदस्यता विवाद मिलाउन पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो ।
समितिका सदस्यहरु भने पछि चयन गरिने र समितिलाई आगामी केन्द्रीय समितिको बैठकबाट पूर्णता दिइने नेता गोपालमान श्रेष्ठले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
काँग्रेसमा सदस्यता समायोजनका नाममा विधान र प्रक्रियाविपरीत रसुवा, सर्लाही, डडेलधुरा, सिन्धुपाल्चोकलगायत जिल्लामा क्रियाशील सदस्यता वितरण भएको बरिष्ठ नेता पौडेल पक्षले असन्तुष्टि जनाउदै आएको छ ।
अन्य दलबाट प्रवेश गरेका कार्यकर्तालाई पनि विस्थापित भइन्छ कि भन्ने आशंका नहुने गरी वडा तहबाटै सहभागी गराइने भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
त्यसैगरी विदेशस्थित जनसम्पर्क समितिका विवाद समाधान गरी तत्काल अधिवेशन गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाले अधिवेशन नगराए महाधिवेशनमा प्रतिनिधित्व हुन नपाउने समझदारी भएको पनि बताउनु भयो ।
यस्तै आज बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक आगामी २७ गतेसम्मका लागि स्थगित गरिएको छ । १९ गते बोलाइएको बैठक सर्दै २७ गते पुगेको हो । आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आइसोलेसनमा भएकाले सारिएको हो ।