काठमाडौं। नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले आम राजनैतिक दलहरुको सहमतीबाट मात्र नभै आम नागरिकको सहमतीबाट संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ।
नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता शिवाकोटीले यस्तो बताउनु भएको हो।
उहाँले यसका लागी सबैभन्दा पहिले प्रतिनिधीसभा र राष्ट्रिय सभामा सहभागी दलहरु जिम्मेवार बन्नुपर्ने बताउँदै आम नागरिकका समस्या पहिचान र जनजिविकाका पक्षमा केन्द्रित हुनुपर्ने पनि बताउनु भयो । उहाँले वर्तमान कांग्रेस एमाले नेतृत्वको सरकारले संविधान संशोधन गरि समय सापेक्ष तथा जनमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो ।
विक्रम सम्वत् २०७३ साल असोज ३ गते संविधान दिवसको दिनदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेपाली रेडियो नेटवर्कले आफ्नो वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा आज(बिहिबार)काठमाडौंको नयाँ बानेश्वरस्थीत अल्फाविटामा ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान कार्यान्वयनका सबलता र जटिलताका विषयमा विज्ञसँगै राजनैतिक दलका नेताहरुसँग छलफल गरेको हो।