काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले संविधान परिवर्तन नगरेसम्म धेरै कुराहरु ओझेलमा पर्ने बताउनुभएको छ । सबै क्षेत्रलाई समेट्ने गरी ऐन कानून निर्माण गरेर मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ रहेको छ ।
नेपाली रेडियो नेटवर्कको ८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रेष्ठले माटो सुहाउँदो नीति आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले जबसम्म विकासलाई बढावा दिने नीतिहरु बन्दैनन् र नीति नै बाधक बन्छन् तबसम्म मुलुक सही बाटोमा जान नसक्ने औँल्याउनुभयो ।
विक्रम सम्वत् २०७३ साल असोज ३ गते संविधान दिवसको दिनदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेपाली रेडियो नेटवर्कले आफ्नो वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा आज (बिहिबार) काठमाडौंको नयाँ बानेश्वरस्थीत अल्फाविटामा ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान कार्यान्वयनका सबलता र जटिलताका विषयमा विज्ञसँगै राजनैतिक दलका नेताहरुसँग छलफल गरेको हो।