काठमाडौं । गैह्रआवासीय नेपाली संघ एनआरएनएका अभियन्ता आरके शर्माले मुलुकको विकास र समृद्धिका लागि उत्कृष्ट संविधान आवश्यक रहेको बताउनुभएको छ ।
मुलुक सञ्चालनको दस्तावेजले नै आगामी भविष्यको निर्धारण गर्ने हुँदा ऐन नियमहरु चुस्त बनाउनुपर्ने उहाँको धारणा थियो । नेपाली रेडियो नेटवर्कको ८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले सञ्चारमाध्यमले पनि संविधानको कार्यान्वयनका लागि खबरदारी गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा शर्माले भन्नुभयो, ‘नवौं संविधान दिवसको अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायत समस्त एनआरएनहरुमा हार्दिक शुभकामना, संविधान संशोधनको बहस चलिरहँदा यदि संशोधन हुने हो भने विदेशमा बस्ने नेपाली करीब ८०लाख मध्य ४०लाख बढ़ी श्रमिक हरुको हक अधिकारलाई सुनिश्चित गर्नबारे उहाहरुको समस्या संभावाना लाई संबोधन गर्न आवश्यकता छ। समृद्ध नेपाल निर्माणका लागि विदेशमा बस्ने नेपालीलाई साथमा लिँदै उनीहरूलाई समानुपातिक अनि सदनमा पनि प्रतिनिधित्व सुनिश्चित हुने प्रक्रिया समावेश गर्न जरुरी छ ।’
कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक अमृत अधिकारीले नेटवर्कलाई सहयोग गर्ने सबैप्रति शुभेच्छा प्रकट गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले गर्नुभएको थियो ।
नेटवर्कका हरेक बुलेटिन अहिले देशभरीका झण्डै ३०० रेडियोहरूबाट प्रसारण हुने गरेको छ । नेटवर्क अन्तर्गत अहिले काठमाडौमा आफ्नै रेडियो एनआरएन ९९.१, समाचारमुलक अनलाईन नेपाली नेटवर्क डटकम, नेपाली नेटवर्क अनलाइन टिभी र समय टिभी गरी पाँच ओटा सञ्चार माध्यम रहेका छन् ।.सेयरकाष्ट नामक अनुसन्धान संस्थाले गरेको सर्वेक्षण अनुसार नेपाली रेडियो नेटवर्कका सामग्रीहरु दैनिक कम्तीमा ५० लाख मानिसले सुन्ने गरेका छन् ।