काठमाडौं। संविधानविद् निलाम्बर आचार्यले संविधानले आम नागरिकमा डेलिभरी दिनसक्नुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले जतिसुकै राम्रो संविधान भएपनि आर्थिक विकास र समृद्धि नहुने हो भने त्यसको अर्थ नहुने तर्क गर्नुभयो। आम नागरिकको चाहना र देशको आजको आवश्यकताअनुसार संविधानको तालमेल मिल्नुपर्ने बताउँदै आचार्यले सर्वसम्मतिको माध्यमबाट संशोधनको प्रक्रिया समेत अपनाउनुपर्ने तर्क गर्नुभयो।
विक्रम सम्वत् २०७३ साल असोज ३गते संविधान दिवसको दिनदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेपाली रेडियो नेटवर्कले आफ्नो वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा आज(बिहिबार)काठमाडौंको नयाँ बानेश्वरस्थीत अल्फाविटामा ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान कार्यान्वयनका सबलता र जटिलताका विषयमा विज्ञसँगै राजनैतिक दलका नेताहरुसँग छलफल गरेको हो।