काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राख्नुभएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाउनुभएको थियो ।
प्रधानमन्त्रीले बोलाएपछि नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुग्नुभएको थियो ।
बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको छ । प्रधानमन्त्रीले लामै कुरा गरे पनि ठोस प्रस्ताव भने नगरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
भेटमा वरिष्ठ नेता नेपालले भने फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ ।
उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजाने ठोस कार्यक्रम प्रस्तुत गर्न समेत आग्रह गर्नुभएको थियो । भेटमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले छलफल लामै भए पनि ठोस निर्णय भने नजुटेको बताउनुभयो ।
उहाँका अनुसार छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टी फुटको संघारमा रहेको बताउनुभएको थियो । जवाफमा नेता नेपालले त्यसो हो भने रोक्ने जिम्मा तपाईंकै हो भन्दै ठोस प्रस्ताव ल्याउन आग्रह गर्नुभएको पाण्डेले बताउनुभयो ।