काठमाडौं। नेकपा एमालेकी सचिव पद्मा अर्यालले संविधान संशोधन गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ।
नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेतृ अर्यालले दलहरुबीच सहमति गरेरै संविधान संशोधन गर्नुपर्ने तर्क गर्नुभएको हो ।
हरेक क्षेत्रका नागरिकका आवाजहरुलाई समेटेर मात्रै संविधानले पूर्णता पाउने उहाँको धारणा थियो। विश्वमै उत्कृष्ट ठहरिएको नेपालको संविधानको रक्षाका लागी दलहरु जिम्मेवार नबनेसम्म ठुलो बलिदान र संघर्षबाट प्राप्त उपलब्धी नै संकटमा परेकोले संशोधन गरेर भए पनि रक्षाका लागी एकवद्ध बन्नुपर्ने बताउनु भयो।
विक्रम सम्वत् २०७३ साल असोज ३ गते संविधान दिवसको दिनदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेपाली रेडियो नेटवर्कले आफ्नो वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा आज(बिहिबार)काठमाडौंको नयाँ बानेश्वरस्थीत अल्फाविटामा ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान कार्यान्वयनका सबलता र जटिलताका विषयमा विज्ञसँगै राजनैतिक दलका नेताहरुसँग छलफल गरेको हो।