काठमाडौं । कांग्रेस एमालेसहितका दलको सत्ता गठबन्धनले बुधबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । साझा कार्यक्रम तयार गर्ने मस्यौदा कार्यदलका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले उक्त जानकारी दिनुभयो ।
नयाँ सरकार बनेको दुईमहिनापछि सरकारले गर्ने साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । ’आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ । लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन’ शिक्षा दिवसको अवसरमा आज काठमाडौंको मुलपानीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो ।
उहाँले आगामी संसद्को शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताउनुभयो । शिक्षा विधेयक दसैँ तिहार लगत्तै शुरु हुने संसद्को हिउँदे अधिवेशनको शुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताउनु उल्लेख गर्नुभयो । महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गठबन्धनको शीर्ष नेताको बैठकबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, त्यस्तै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।
असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले समर्थन गरे पनि सरकारमा गएका छैनन् ।