काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन समुह र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसक्दा शीर्ष नेताहरुको छलफल लम्बिएको छ ।
नेता पौडेलसहित २७ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई बुझाएको असहमतिपत्रमाथि लगातार छलफल हुँदा पनि सहमति जुट्न नसकेको हो । सोही विषयमा छलफल गर्न आज पनि दिउँसो एक बजे शीर्ष नेताहरुको बैठक बस्दैछ ।
सभापति देउवा निवास बुढानिलण्ठमा बस्ने बैठकमा पार्टीका पदाधिकारी, पुर्वपदाधिकारी र शीर्ष नेताहरु सहभागी हुनेछन् । आफूहरुले अघि सारेका असहमतिका बुँदालाई सभापतिले गम्भीर रुपमा नलिएका कारण छलफल लम्बिएको पौडेल पक्षले जनाएको छ ।
सहमतिका लागि भन्दै गत शुक्रबारका लागि तय गरिएको पार्टीको केन्द्रिय कार्यसमिति बैठक पनि सोमबारसम्मका लागि सारिएको छ ।
पौडेलसहितका नेताले सभापतिले एकलौटी ढंगले विभाग बिस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको आरोप लगाएका छन् ।
एकलौटी रुपमा गठन गरेको विभाग खारेज हुनुपर्ने पौडेल समूहको माग छ । तर, देउवाले विभाग गठन फिर्ता नहुने र अन्य बिषयमा छलफल गर्न आफू तयार रहेको बैठकमा जवाफ दिइसकेकाले सहमति जुट्ने प्रयास न्युन रहे पनि छलफल भने चलिरहेको छ ।