Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

स्पेनका लागि प्रस्तावित राजदूत नेपालले ल्याए चार नविन अवधारणा

स्पेनका लागि प्रस्तावित राजदूत नेपालले ल्याए चार नविन अवधारणा

  • बिहिवार, भाद्र २७ २०८१

  • 467
    SHARES

  • स्पेनका लागि प्रस्तावित राजदूत नेपालले ल्याए चार नविन अवधारणा

    काठमाडौं। स्पेनका लागि प्रस्तावित नेपाली राजदूत शनिल नेपालले चार नविन अवधारणा प्रस्तुत गर्नुभएको छ।संसदीय सुनुवाई समितिमा आज उहाँले स्वदेशमै बसेर वैदेशीक रोजगारी, स्वयमसेवक पर्यटक, समुन्द्रदेखि सगरमाथासम्म र टिम युरोपको अवधारणा प्रस्तुत गर्नुभएको हो।

    उहाँले पेश गरेको १६ पृष्ठ लामो कार्य योजनामा उल्लेखित यी चार अवधारणाको सांसदहरुले प्रसंसा गर्दै रुचि र कौतुहलताका साथ थप प्रस्ट पार्न आग्रह गर्नुभएको थियो ।

    सांसदहरु प्रकाश अधिकारी, महेश वर्तौला, डिपी अर्याल, भगवती न्यौपाने लगायतले युवा कूटनीतिज्ञ शनिलका नयाँ नयाँ अवधारणाको खुलेर प्रशंसा गर्दै कार्यान्वयनमा सफलताका लागि शुभकामना दिनुभयो।

    सांसद बर्तौलाले भन्नुभयो, “युवा कूटनीतिज्ञको रुपमा उदाउदै गरेका नेपालले पेश गरेका योजनाहरु पुराना र अनुभवीका भन्दा धेरै राम्रो लाग्यो, अहिलेसम्म पेश भएका कार्ययोजनाहरु मध्ये यो कार्ययोजना उत्कृष्ट तीन भित्रमा पर्दछ ।”

    सांसद अधिकारीले नयाँ नयाँ अवधारणाहरु पेश गर्नु भएकोमा खुशी व्यक्त गर्दै ती अवधारणाहरु बारे थप प्रस्ट पार्न आग्रह गर्नुभएको थियो।

    सांसदहरुको आग्रहपछि प्रस्तावित राजदूत नेपालले युरोपियन युनियनका मुलुकहरुमा रहेका नेपाली राजदूतहरुको संयुक्त पहलमा साझा उद्धेश्य प्राप्तीका लागि निरन्तर सामुहिक प्रयास गर्न टिम युरोपको अवधारणा ल्याइएको जानकारी दिनुभयो। “कतिपय विषयमा एक्ला एक्लै काम गर्दा नतिजा नआउन सक्छ, तर सबैले संयुक्त पहल गर्दा प्रभावकारी हुनसक्छ भन्ने ठानेर यो अवधारणा ल्याएको हुँ,” उहाँले सुनुवाईका क्रममा भन्नुभयो।

    उहाँले पेश गरेको “देशमै बसेर बैदेशिक रोजगारी” भन्ने अर्को नयाँ अवधारणाप्रति पनि सांसदहरुको चासो र रुचि देखिएको थियो । सूचना प्रविधि क्षेत्रमा नेपालको बढ्दो सम्भावना देखिदै गएकाले नेपालीलाई नेपालमै बसेर अनलाईनबाट गर्न मिल्ने विदेशको कामहरु उपलब्ध गराउन स्पेनका व्यावसायीहरुसँग समन्वय गर्ने अवधारणा बनाएको उहाँको भनाई थियो ।

    नेपालमा आइटीको राम्रो सम्भावना रहेको कुरा उजागर गर्दै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने स्पेनका उद्यमी र लगानीकर्ताहरुलाई नेपालमा लगानी र नेपालीलाई नेपालमै बसेर गर्न मिल्ने काम दिन प्रोत्साहित गर्ने पनि उहाँले कार्ययोजनामा समावेश गर्नुभएको छ।

    प्रस्तावित राजदूत नेपालले “समुद्रदेखि सगरमाथासम्म” भन्ने अभियान संचालन गर्दै बर्षेनी हजारौको संख्यामा पर्यटकहरु नेपालसम्म ल्याउन र नेपालका हिमशिखरहरुको प्रचार प्रसार गर्ने योजना पनि प्रस्तुत गर्नुभएको थियो।

    उहाँले पेश गरेको चौथो नविन अवधारणामा “स्वंयसेवी पर्यटन” रहेको छ । स्पेनका विद्यालय तथा विश्वविद्यालय र शैक्षिक संस्थाहरुबाट विदा मनाउन र स्थलगत अध्ययनका लागि विद्यार्थीहरुलाई स्वयमसेवकको रुपमा नेपाल ल्याउने उहाँको अवधारणा छ ।

    विदेशी विद्यार्थीहरु नेपालमा आएर निश्चित समयसम्म स्वयमसेवा गर्न वा अध्ययन विदा मनाउन रुचि राख्ने भएकाले यसको संभावना अत्यन्त धेरै रहेको उहाँको भनाई छ । यसअघि पोर्चुगलका लागि सिफारिस भई नियुक्त समेत हुनुभएका पूर्व राजदूत नेपाल सत्ता गठवन्धन परिवर्तन भएपछि फिर्ता बोलाइनु भएको थियो।

    पोर्चुगलका लागि पनि अति राम्रो कार्ययोजना प्रस्तुत गरेको भनेर प्रशंसा पाउनुभएका शनिलले अहिले पनि नयाँ नयाँ अवधारणा पेश गरेर आफूलाई फरक पहिचान दिलाउन सफल हुनु भएको छ।


    बिहिवार, भाद्र २७ २०८१०८:१६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij