काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं उपसभामुख ईन्दिरा रानामगरले २०२३ फेब्रअरीमा संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेको विषय अहिले चर्को रुपमा उठेको छ ।
संसदमा प्रवेश पाएको यो मुद्धाले मुलुककै गरिमामाथिको चीरहरण भएको सांसदहरुले बताएका छन्। कुनैपनि हिसाबले उक्त बैठकमा जान नपर्ने व्यक्तिहरुलाई लैजानका लागि उपसभामुखले अमेरिकी दूतावासलाई ताकेता गर्नु गैरसंवैधानिक भएको सत्तापक्षका सांसदहरुको ठहर छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज बिहान पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएर उपसभामुख रानाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको छ। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख रानाले संसदलाई नै अपमानित गरी गम्भीर प्रकृतिको कार्य गरेकोले राजीनामा दिनुपर्ने बताउनुभयो ।
उपसभामुख हटाउने विषयले रास्वपामा समेत तरंग सिर्जना भएको छ। रास्वपाका सभापति रवि लामिछानेले प्रधानन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख हटाउनेबारे धारणा माग गर्नुभएको छ ।
लामिछानेले रानालाई हटाए घातक हुने भन्दै प्रधानमन्त्री ओलीलाई सुझाउनुभएको थियो । ओलीले कांग्रेससँगको छलफलपछि मात्रै जवाफ दिने बताउनुभएको रविको भनाइ छ ।
उपसभामुख रानाले गरेको गल्ती अक्ष्यम्य रहेको नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लको ठहर रहेको छ । उहाँले यस्तो गम्भीर क्रियाकलापले नेपालको गरिमा खस्किएको र मानव बेचबिखनको मुद्धा चलाउन मिल्ने बताउनुभएको छ ।
उपसभामुख रानालाई महाअभियोग लगाउन दुई तिहाइका लागि १ सय ८३ मत आवश्यक पर्दछ । कांग्रेस र एमालेसँग १६७ सांसद छन् । सत्ता पक्षका सबै सांसदको संख्या १८० रहेकाले थप ३ जना दुईतिहाइका लागि आवश्यक पर्दछ ।