काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्व मन्त्री किसान श्रेष्ठले पार्टी फुट्दै छ भनेर अफवाह नफैलाउन आग्रह गर्नुभएको छ । उहाँले १० औं महाधिवेशनको क्रममा अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मत भइसकेपछि अरू पदाधिकारी, केन्द्रीय कमिटी र पोलिटब्युरो पनि महाधिवेशन हलबाट सर्वसम्मत गर्नुपर्ने आफ्नो माग पुरा नहुँदा असन्तुष्ट रहेपनि पार्टी फुटाउन कुनै योजना नरहेको प्रष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट हुनु फरक विषय रहेको बताउनुभयो । तर उहाँले पार्टीभित्रको असन्तुष्टिलाई समयमै सम्बोधन गरिएन भने जे पनि हुन सक्ने दाबी गर्नुभएको छ ।
नेता श्रेष्ठले आफू मधेस प्रदेशको बाराबाट १० हजार मतान्तरले जितेको सांसद भएको भन्दै अहिले बाराबाट एकजना पनि केन्द्रीय सदस्य नहुनु विडम्बना भएको बताउनुभयो । उहाँले नेतृत्व पूर्वाग्रही ढंगले चलेको आरोप लगाउँदै आफ्नो पार्टीलाई मजबुत बनाउनुको साटो पार्टी फुटाउँदै छ भनेर हल्ला फैलाउनु उचित नभएको बताउनुभयो ।