काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम महाधिवेशनपछि गुटको पर्दाफास भएको छ । राजनीतिक रुपमा राष्ट्रिय पार्टी समेत बन्न नसकेको एकीकृत समाजवादीभित्र गुट मौलाएको खुलासा भएको छ । महाधिवेशनमा आफू निकटका नेताहरुलाई जिताउनका निम्ति लिस्ट बाड्नेदेखि मन नपरेकाहरुलाई निषेध गर्नेसम्मका क्रियाकलाप भएको बिस्तारै खुल्न थालेको छ । पार्टीको उपाध्यक्षका लागि उम्मेदवारी दिएसँगै पराजित हुन पुग्नुभएकी नेतृ रामकुमारी झाँक्रीले भित्री पाटाहरु सञ्चारमाध्यम सामू व्यक्त गर्नुभएको छ ।
विद्रोही चेत बोकेकी झाँक्रीले आफू पराजित हुनुपर्दाको पीडा पोख्दै गर्दा पार्टीसमेतलाई घाटा पुगिरहेको आंकलन हुन थालेको छ । पछिल्लो समय झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति नरम हुन पुग्नुभएको छ । भर्खरैको महाधिवेशनबाट उपाध्यक्षमा विजयी हुनुभएका नेता जगन्नाथ खतिवडाले पार्टीभित्र केही मतभेद देखिएको स्वीकार गर्दै बिस्तारै बढारिने दाबी गर्नुभयो । कतिपयमा तीब्र महत्वकांक्षा पलाउँदा समस्या देखिएको उहाँको आंकलन छ ।
एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले आफ्नो औचित्य पुष्टि गर्न नसक्दा समेत धेरै चुनौति थपिएका छन् । नेतृत्वमाथि नेता, कार्यकर्ताहरुले रोष प्रकट गरिरहेका छन् भने विभिन्न जिल्लाका सिंगो कमिटी नै एमालेमा प्रवेश गर्ने लहर चलेको देखिन्छ । पार्टी नेतृ एवं नवनिर्वाचित उपाध्यक्ष जयन्ती राईले जिम्मेवार पंक्तिका नेताहरुलाई पढाइराख्न नपर्ने बताउँदै आफ्नो भविष्य आफै देख्न आग्रह गर्नुभयो । पार्टीले लामो समय आफ्नै गति समातिराख्ने उहाँको विश्वास छ ।
नेपालमा च्याउ उम्रिएजस्तै पार्टी बन्ने र मौसमजस्तै समिकरण फेरिने चलननै बनिसकेको छ । निश्चित स्वार्थ र इगोले बन्ने समिकरण र दलहरुको अस्तित्व लामो समय चलेको पाइँदैन । तत्कालीन समयमा ओलीको अहमतालाई तोड्न भन्दै बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो अस्तित्व जोगाइराख्न धौँ परेको छ ।