काठमाडौं। आज २१ औँ निजामती सेवा दिवस मनाइएको छ। २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको हो।
दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँहरूलाई सम्मान गर्नुभएको हो। प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा निजामती सेवाको भूमिका र जिम्मेवारी प्रशंसायोग्य रहेको बताउनुभएको छ।
दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको बताउनुभयो। कर्मचारीले आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जरुरी रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। उहाँले जनतालाई दिने सेवा चुस्त दुरुस्त छिटोछरितो हुनुपर्र्नेे बताउनुभयो।
यता,नेकपा माओवादी केन्द्रका नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले अहिले नेपालको उत्कृष्ट कर्मचारी भन्ने कोही पनि नरहेको टिप्पणी गर्नुहुन्छ।कर्मचारीहरुले कार्यालय समयभित्र व्यक्तिगत काम गर्ने गरेको उहाँको आरोप छ।
अपवादबाहेकका सबै कर्मचारीले घुस नखाई काम नै नगर्नेे आरोप उहाँको छ। कर्मचारीहरुले देशको सूचना एनजीओ आईएनजीओलाई बेच्ने गरेको पनि उहाँको आरोप छ। २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो।
दिवसको अवसरमा कर्मचारीलाई पुरस्कृत गर्ने गरिएकोमा यसअघिका ७ वर्षमा जस्तै यसवर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन ।यो वर्ष पनि सर्वोत्कृष्टको न्युनतम् मापदण्डहरु पुरा भएका कोही पनि कर्मचरीको नाम सिफारिस नभएको छनोट समितिले जनाएको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीलाई हामीले प्रश्न गर्यौ सरकारी कर्मचारीहरु काम नगर्ने अल्छी किन भएका होलान ? उहाँले तिनै तहमा कर्मचारीहरुले सेवाप्रवाह राम्रो गरेको दाबी गर्दै कहि कतै भएका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनतालाई सुसाशन दिनु चुनौति भएको तर्क गर्नुभयो।
अहिले निजामती कर्मचारीको राजनीतिक कित्ताकाट प्रष्ट देख्न सकिन्छ। उनीहरूका पार्टी अनुसारका संगठन छन्।राजनीतिक संगठनमा सामेल भएपछि उनीहरूलाई साह्रोगाह्रो अवस्थामा आफू निकट पार्टीले संरक्षण गर्छ। जसका कारण पनि कर्मचारीहरूमा काम गर्नैपर्छ भन्ने भावनाको विकास नभएको हो ।
जसले गर्दा सोझासाझा जनताले सास्ती पाएका छन् । सवै कर्मचारी खराव र ठग भन्ने होईन असल पनि छन् । तर कामकाजमा चुस्त दुरुस्त फेला पार्न भने सेवाग्राहीलाई हम्मे हम्मे नै छ ।