काठमाडौं। नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षीको बेञ्चमा पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राउण्ड किक हानेर सत्ताबाट फ्याँकेको भन्ने अभिव्यक्तिले राजनीतिक वृत्त पुनः तातेको छ ।
एमाले पोलिटब्यूरो बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै ओलीले विभिन्न तिकडमले प्रचण्डलाई सत्ताबाहिर पु¥याएको आशय व्यक्त गर्नुभएको थियो। साथै पार्टीमा आवद्ध भएकाहरुलाई संघर्ष गर्न र जनताको पक्षमा काम गर्न उहाँको सुझाव रहेको थियो।
एमालेकै एकल नेतृत्वमा सरकार बन्ने गरी आगामी निर्वाचनको तयारीमा जुट्न समेत ओलीको निर्देशन रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । दिनहुँको राजनीतिक अस्थिरतालाई चिरेर गठबन्धनको निर्माण भएको उहाँको भनाइ थियो ।
सत्ता बाहिर पुग्दाको बेचैन नमेटिएका बेला प्रचण्डमाथि ओलीको प्रहारले माओवादी थप आक्रामक बन्न पुगेको छ। कहिले सशस्त्रद्वन्द्वलाई हिंसाको उपमा दिएर त कहिले जनयुद्ध भन्न नमिल्ने एमालेका नेताको अभिव्यक्तिका कारण आक्रोशित प्रचण्डले ओलीमाथि फायर फर्काएका छन्।
आफूलाई राउण्ड किक हानेर सत्ताबाट बाहिर पुर्याएको बताउने अहिलेका प्रधानमन्त्रीलाई जनताले किक कस्तो हुन्छ जवाफ दिने प्रचण्डको भनाइ थियो।
अहंकार आयु कम हुने बताउँदै प्रचण्डले अहिलेको समयमा आरोपप्रत्यारोप भन्दा पनि पार्टी संगठन निर्माणमा जुट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । विकासको अधोगतिमा रहेको मुलुकका प्रधानमन्त्रीहरुको बोली र कार्यशैलीको चौतर्फी आलोचना भइरहेको छ।
एकले अर्कोलाई घुँडा टेकाउँदा नतमस्तक हुने संकिर्ण सोचका कारण देशको विकास त परै जाओस् जनतालाई विभाजन गर्ने काम गरिरहेको छ। समाजवादको खोक्रो नारा घन्काएर जनतालाई बन्धक बनाउने प्रवृत्तिको अन्त्य हुनुनै अहिलेको प्रमुख चुनौति हो।