काठमाडौं । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङ यतिबेला आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिनुभएको छ । प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने भन्दै दिएको अभिव्यक्तिले गुरुङमाथि कारबाही हुनुपर्ने आवाज सदनदेखि सडकसम्म उठेको छ । नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठन पूर्व प्रहरी संगठन प्रमुख मञ्चले समेत सञ्चारमन्त्रीको अभिव्यक्ति अमर्यादित रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै मन्त्री गुरूङलाई तत्काल अमर्यादित वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमा याचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेका छन् । मन्त्री गुरुङको अभिव्यक्तिले सदन समेत तातेको छ । सत्तारुढ दलकै सांसद रामहरि खतिवडाले गुरुङको अभिव्यक्तिमाथि आपत्ति जनाउनुभएको छ । उहाँले दम्भ नदेखाएर आफ्नो जिब्रोमा ब्रेक लगाउन सुझाउनुभएको छ ।
नेपालको संविधानले आम नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेपनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको प्रतिपक्षी दलका सांसदहरूको भनाइ रहेको छ । यस्ता अभिव्यक्तिले मन्त्रीहरूको राजनीतिक कद घटाएको टिप्पणी हुन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नागरिकको बोल्न पाउने अधिकारलाई कुण्ठित पार्न नहुने बताउनुभयो ।
नेपालको राजनीतिक उचाईंमा पुगेका व्यक्तिहरूले होस् गुमाउँदा स्वयं आफूलाई मात्र होइन सिंगो समाजलाई समेत असर गरिरहेको हुन्छ । एक संगठनको प्रमुखको जिब्रो थुत्ने ताकत एकजना मन्त्रीमा हुने हो भने राजनीतिक अराजकता कहाँसम्म पुग्दैछ सजिलै भन्न सकिन्छ । बोलीमा लगाम, काम तमाम गर्ने बेला अराजक अभिव्यक्ति दिँदै हिँड्नुको अर्थ रहँदैन ।