Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

काँग्रेस पाल्पाले पूर्व सभापति विप्रको निधनमा भदौ १९ गते श्रद्धाञ्जली सभा गर्ने

काँग्रेस पाल्पाले पूर्व सभापति विप्रको निधनमा भदौ १९ गते श्रद्धाञ्जली सभा गर्ने

  • सोमवार, भाद्र १७ २०८१

  • 795
    SHARES

  • काँग्रेस पाल्पाले पूर्व सभापति विप्रको निधनमा भदौ १९ गते श्रद्धाञ्जली सभा गर्ने

    पाल्पा। नेपाली काँग्रेस पाल्पाले पार्टीका पूूर्व जिल्ला सभापति ठाकुर चन्द्र (विप्र) कोइरालाको निधनमा यही भदौं १९ गते विशेष श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ।

    पार्टी कार्यालय तानसेनमा बसेको जिल्ला कार्यसमितिको बैठकले दिवंगत कोइरालाको सातौं दिनको पूण्य तिथिमा उहाँकै निवास तानसेन–६ बर्तुङ्गमा आगामी बुधबार अपराह्न्न १२ बजे श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार संघीय सांसद एवं काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा जिल्ला, प्रदेशका नेताहरुको उपस्थितिमा सभामा हुनेछ ।

    सभाका लागि नगर कार्यसमिति र वडा कार्यसमितिलाई जिम्मा दिइएको छ । जसमा मञ्च व्यवस्थापनका लागि वडा कार्यासमिति र प्रचार–प्रसारका लागि नगर समितिलाई जिम्मा दिने निर्णय भएको पार्टी सभापति श्रेष्ठले बताए ।

    यस्तै बैठकले दिवंगत कोइरालाको जीवनी संकलन गर्ने जिम्मेवारी उहाँका तत्कालीन कार्यसमितिका सचिव यमलाल तिमिल्सीनालाई दिने निर्णय गरेको छ ।

    कोइरालाको निधनको शोकमा दुई दिन पार्टी कार्यालय बन्द र तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइएको काँग्रेस प्रवक्ता शोभाकर न्यौपानेले बताए ।

    उनका अनुसार बैंठकले सोमबारदेखि कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय पनि गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा गत विहीबार निधन भएको थियो ।

    वि.स. १९९६ भाद्र ३० गते पाल्पामा जन्मिका कोइराला २०४८ देखि २०५२ सम्म नेपाली काँग्रेस पाल्पाको सभापति थिए । पार्टीको विभिन्न तहमा रही कार्य गरेका स्वर्गीय कोइराला संगठन निर्माणको क्रममा वि.सं. २०१५ मा युवा काँग्रेस पाल्पाको अध्यक्ष बनेका थिए ।

    काँग्रेसमा सादगी नेताको रुपमा परिचित उनी प्रजातन्त्रको पुर्नस्थापनाका निम्ति वि.सं. २०१७ देखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

    वि.सं. २०४२ को सत्याग्रहदेखि २०४६ सम्मका जनआन्दोलनमा कोइराला अग्रमोर्चामै रहेर काम गरे । आन्दोलनका क्रममा पटक–पटक जेल जीवन विताएका उनी प्रजातान्त्रिक आन्दोलनको मोर्चामा जहिल्यै निडर, प्रखर, अग्रणी र बफादार भूमिकामा रहे ।

    बैंठकमा काँग्रेस निवर्तमान जिल्ला सभापति तथा प्रदेश सांसद एवं पूर्व मन्त्री वीरबहादुर राना, काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, पार्टीका प्रदेश सदस्य कृष्णप्रसाद अधिकारी लगायत काँग्रेस नेताहरुले नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा स्व.कोइरालाले निर्वाह गरेको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने बताए ।

    पार्टी सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व, सचिव सुनिता अधिकारीको सञ्चालनमा बैंठक भएको थियो ।


    सोमवार, भाद्र १७ २०८१०५:४२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij