काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसमा आवश्यकता अनुसार संविधान संशोधनमा जानुपर्ने विषयले महत्व पाएको छ। कांग्रेस नेता तथा सांसद डा.चन्द्र भण्डारीले देशमा धेरै दल हुँदा अस्थिरता भएकोले संविधान संशोधनमार्फत देशलाई स्थीरता दिनुपर्ने आजको आवश्यकता रहेको सिंगो कांग्रेसले महसुस गरेको बताउनु भयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता भण्डारीले नेपाल धेरै दलहरु हुँदा अस्थीरताको चंगुलमा परेको बताउँदै संविधान संशोधनमार्फत दुई दलिय व्यबस्थामा जानुपर्ने बताउनु भयो ।
नेपालमा ठुलो त्याग र बलिदानीबाट आएको व्यस्थाबाट बनेका दलहरु आ आफ्नो स्वार्थमा केन्द्रित हुँदा आम जनताको अवस्था परिवर्तन हुन नसक्नु निकै दुखद रहेको बताउनु भयो। पटकपटक बनेका अस्थीर सरकार हरु जनताप्रति उत्तरदायी बन्न नसक्दा जनता थप सास्ती भोग्न बाध्य भएको तर्क गर्नुभयो ।
उहाँले अहिले कांग्रेस एमालेको सहकार्यबाट बनेको वर्तमान सरकारले जनतालाई डेलिभरी दिन नसके थप विश्वास घट्ने भएकोले यसतर्फ सचेत रहनुपर्ने धारणा राख्नुभयो। उहाँले दुई ठुला दल मिलेर बनेको शक्तिशाली सरकारले आवश्यकताअनुसार संविधान संशोधन गरेर भएपनि आम जनतामा राहत महसुस हुने गरी काम गर्नुपर्ने बताउनु भयो।