काठमाडौं। राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले पदबाट राजीनामा दिनुभएको छ। सचिवहरुको वरियतामा एक नम्बरमा रहनु भएका ज्ञवालीसमक्ष सरकारले मुख्यसचिव नियुक्त नगर्ने सन्देश पुगेपछी उहाँले राजीनामा दिनुभएको हो।
उहाँ आगामी २२ भदौमा अवकाशमा जाँदै हुनुहुन्थयो। तर, सरकारले मुख्य सचिव बनाउने सम्भावितको सूचीमा ज्ञवाली पहिलो दावेदार रहेपनि मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग भेटघाट गरेर मुख्यसचिवका लागि तयार रहन भनेको पाइएको छ।
उक्त सन्देश पुगेलगत्तै ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाउनु भएको थियो। ज्ञवालीको राजीनामा हिजो बसेको मन्त्रिपरिषद बैठकले पनि स्वीकृत गरिसकेको छ।
स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै सचिवहरुको वरियतामा चौथो नम्बरमा रहनु भएका गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ।