काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष कक्षा १० को एसईई परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने बताउनु भएको छ।
काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले देशभर अनलाइनबाट शिक्षा सञ्चालन गर्ने घोषणा गर्दै यस्तो बताउनु भएको हो।
कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारले अनलाइन माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘५० प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय हो। यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छु। बढी नम्बर दिएर नभई विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ, अहिलेको सरकारले परिणाममा देखाउने गरी काम गर्नेछ।’
सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्रीले आफूले गतवर्ष झापाबाट अनलाइन कक्षा दिएका कारण विद्यार्थीको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताउनुभयो।