काठमाडौँ । नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभाग गठन गरिएको छ ।कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. डिला संग्रौला पन्तलाई गत साउन २१ गते विभागीय प्रमुखको जिम्मेवारी दिएकोमा अहिले १० जना सदस्य सहित विभाग गठन गरिएको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी वक्तव्यका अनुसार ललितपुरका डा. लोकनाथ दुलाल, पाल्पाकी डा. विष्णु बस्याल, चितवनका मानबहादुर थापा, बाँकेका डा. तबस्सुम सिद्दिकी, कैलालीका देवराज अवस्थी, सप्तरीका ई. दिलिपकुमार झा, मोरङका ई. मनोज घिमिरे, दैलेखका गणेश शाही, पर्वतका डम्बरबहादुर वि.क. र तेह्रथुमका विजय साम्बाहाम्फेलाई विभागको सदस्यमा मनोनयन गरिएको छ।
पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. डिला संग्रौला प्रमुख रहनु भएको नेपाली कांग्रेस पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा उल्लेखित व्यक्तिहरुलाई मनोनयन गर्नु भएको मुख्य सचिव पौडेलले जानकारी दिनुभएको छ।
कुल ४९ सदस्य रहने विभागमा बाँकी सदस्य पछि मनोनयन गरिने विभागीय प्रमुख संग्रौलाले बताउनुभयो। यस विभागको तर्फबाट यही भदौ ६ गते समाजवादी चिन्तक स्व. प्रदिप गिरीको स्मृतिमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम समेत गरिसकिएको छ।
