काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देशमा जति पनि बेथिती, निराशा र भ्रष्टाचार बढेको छ यसको मूख्य जिम्मेवार माओवादी पार्टी रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता बर्तौलाले माओेवादीले सरकारको नेतृत्व छोडेको धेरै समय नभएको बताउँदै अन्य दल पनि कहिकतै जिम्मेवार भए पनि सबैभन्दा बढि जवाफदेहिता भने माओवादी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाउनुभयो ।
प्रचण्ड नेतृत्वको सरकारको पालामा एयरपोर्ट सुन तस्करीको अखडा बन्ने गरेको, तस्करीमा माओवादीकै नेताहरु मुछिएको प्रस्टै देखिएको र भ्रष्टाचार व्याप्त बढेकोसमेत नेता बर्तौलाको भनाइ छ ।
यस्तै प्रचण्डले अहिलेको वर्तमान सरकारलाई प्रश्न गर्नु र आरोप लगाउनु गलत भएको पनि उहाँको तर्क छ । माओवादी आफूले पार्टी कार्यलयभित्र भ्रष्टारी र तस्करहरु पाल्ने संसदबाट अरुलाई आरोप लगाएर जनतालाई भ्रम छरिरहेको नेता बर्तौलाको आरोप रहेको छ ।
प्रतिपक्षले सरकार बनेको सय दिनसम्म पनि धैर्यता नराखिकन ४२दिन मै आक्रोश, गालिगलौज तल्लोस्तरबाट पोख्नु रचनात्मक र सकारात्मक सुझाव नभएको बताउँदै नेता बर्तौलाले माओवादीले सरकारलाई निराशातर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो ।
प्रचण्डले मंगलबारको संसद बैठकमा सरकार माफियाको चंगोलमा फसेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीमाथि प्रश्नैप्रश्न गर्नुभएको थियो । यहि प्रसंगमा नेता बर्तौलाले मुलुकको तीनचारपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु अत्यन्तै नराम्रो र दुखद भएको बताउनुभयो ।