काठमाडौं। नेपालका दुई ठुला राजनितिक दल कांग्रेस र एमालेबीचको गठवन्धन सरकार बनेको एक महिना नाघेको छ। सरकारले भावी कार्यको सुरुवाती सन्देश दिन थालेको बताएको छ। जनताले पनि सरकारबाट सेवा सुविधाको आशा गर्न थालेका छन्।
यो अवधिमा देशमा धेरै विपत्ति पनि आएका छन्। बाढी, पहिरो,घटना,दुर्घटनाबाट धेरैको ज्यान पनि गएको छ। यो सरकारप्रतिको जनधारणा वन्ने समय पनि हो। गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरण सिर्जना भएको दावी गर्नुहुन्छ।
गृहमन्त्री लेखकले दुई ठूला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने उल्लेख गर्नुहुन्छ। दुई ठुलादल मिलेर पनि निराशामा रहेका जनतामा आशा जगाउन नसके जोखिम झनै थपिने उहाँ बताउनुहुन्छ।
सत्तापक्ष र प्रतिपक्ष दुबै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास,आर्थिक समृद्धि, कानुनको सासन सुनिश्चित गर्नेलगायतका कुराहरुमा सबै संगै मिलेर काम गर्नुपर्नेमा अहिलेको सरकारलाई चुनौति पनि छ।
प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कांग्रेस र एमाले समिकरणको सरकारपछि देशमा आर्थिक चलायमान भएको दावी गर्नुहुन्छ।नयाँ सरकार गठन भएको छोटो अवधिमै बजारमा आर्थिक चलायमान राम्रो भइरहेको दावी गर्दै उहाँले एक महिनामा शेयर बजारबाट सरकारलाई ४ अर्व आम्दानी भएको स्पष्ट पार्नुभयो ।
दुई ठुला पार्टी मिलेर बनेको सरकारले धेरै सकारात्मक कामहरु गर्नेमा जनता आसावादी पनि छन्। तर सरकारप्रति पुर्ण विश्वस्त भने छैनन्। जनताले वर्तमान सरकारलाई गरेको भरोसालाई मर्न नदिने प्रयास सरकारले गर्र्नैपर्छ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दुई ठुला दलहरुको सरकार बनेकाले देशमा सुशासन आउने र भ्रष्ट्राचारको अन्त्य हुनेमा जोड दिनुहुन्छ। सुशासनको नारा लगाएको सरकारले आन्तरिक एवं भूराजनीतिक चुनौतीहरूको सामना गर्दै जनविश्वास जित्ने कार्य गर्नुपर्नेछ।
राजनितिक अस्थिरताले विगतमा केन्द्र र प्रदेश दुबैमा असर परेकाले थलो परेका विकास र निर्माणका कामहरु पनि अब दुई ठूला पार्टी मिलेर बनेको यस सरकारले पूरा गर्नुपर्ने चुनौति रहेको छ ।