Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

बजार चलायमान हुन थाल्यो,आर्थिक सुधार तीव्र पारौं : चन्द्र ढकाल

बजार चलायमान हुन थाल्यो,आर्थिक सुधार तीव्र पारौं : चन्द्र ढकाल

  • शुक्रवार, भाद्र ७ २०८१

  • 394
    SHARES

  • बजार चलायमान हुन थाल्यो,आर्थिक सुधार तीव्र पारौं : चन्द्र ढकाल

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यसलाई अवसरका रुपमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाण्डौंमा आयोजना गरेको अन्तर्क्रिरयामा बोल्दै अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट सकेत देखिएको बताउनु भएको हो ।

    बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र बिच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गर्नु भएको छ ।देशभित्र सेयर बजारमा उत्साह छ भने घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको र कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

    पर्यटक आगमन बढिरहेको, रेमिट्यान्समा हालसम्मकै उच्च देखिएको,विदेशी मुद्राको सञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा भएकाले लगानीकर्ताहरु लाइ विश्वासमा लिन सहज हुने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

    थप पर्यटक आकर्षित गर्न पोखर तथा भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भइरहेका पहलको स्वागत गर्दै अध्यक्ष ढकालले स्वदेशी र विदेशी पर्यटकलाई लाग्ने शुल्कको अन्तर हटाउन तथा हवाई यात्रा सुलभ र सस्तो बनाउन पहल लिने समय आएको तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनु भयो।

    प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने थाइल्यान्ड भ्रमणका क्रममा नेपाल थाइल्यान्ड बिजनेस फोरम आयोजना गरी विदेशी लगानी भित्र्याउने पहलमा साथ दिन महासंघले हरतरहले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताउनु भएको छ ।यसअघि महासंघले भारतमा दुइपटक र चीन तथा दुबईमा यस्तै चार वटा लगानी पवर्द्धन कार्यक्रम आयोजना गरिसकेको छ ।

    लगानीकर्ताहरुको माग बमोजिम महासंघले स्थापना गरेको विदेशी लगानी सहायता कक्षले लगानीकर्ताहरूलाई सहयोग पु¥याइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो।आर्थिक सुधारका लागि आयोग बनाउने विषयलाई कार्य योजनामा समेटिएको भन्दै अध्यक्ष ढकालले अर्थमन्त्रीलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

    यस्तो आयोगले निजी क्षेत्र सरकारका सरोकारवाला निकायबिच समन्वयको काम गर्ने र समस्या समाधानको पहल गर्ने विश्वासमा महासंघले आर्थिक सुधार आयोगको प्रस्ताव गर्दै आएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।अध्यक्ष ढकालले कम्तीमा दश वर्ष उत्पादनमूलक क्षेत्रका लागि ल्याइएको सहुलियतमा परिवर्तन नगर्न पनि आग्रह गर्नु भयो।

    उद्योग व्यवसायले खपत गर्ने विद्युतलाइ कच्चा पदार्थको रूपमा सुलभ दरमा उपलब्ध गराउन र ह्वीलिंग चार्ज तिरेर सिधै बिजुली किन्ने व्यवस्था गरिनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

    सानो लगानी भएका तर ठाउँ नपाएका साना लगानीकर्ताहरूलाई समेटेर महासंघको पहलमा नेपाल डेभलेपमेन्ट कम्पनी स्थापना भएको जानकारी गराउँदै अध्यक्ष ढकालले यसबाट हामी स्टार्ट अप, जलविद्युत लगायतका पूर्वाधार एवं सार्वजनिक संस्थानहरूको क्षमता विस्तारमा लगानी गर्ने योजना रहेको पनि अध्यक्ष ढकालले बताउनु भएको छ ।

    निजी क्षेत्रलाई हेर्ने करिब डेढ दर्जन नियामक निकाय भएकाले अख्तियारको कार्यक्षेत्र भित्र तान्न पर्ने अवस्था नरहेकाले यसमा निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानुन निर्माण गर्न नहुने तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनु भयो ।निजी क्षेत्र मैत्री कानुनी व्यवस्था र नीति निर्माण तहमा निजी क्षेत्रको सहभागिताले नै आर्थिक समृद्धि हासिल हुने भएकाले राजनीतिक तथा सरोकारवालाहरूले यसमा ध्यान दिने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गर्नु भयो ।


    शुक्रवार, भाद्र ७ २०८१०३:४२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij