एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचनको मतगणना जारी छ । डेमोक्र्याट उमेद्वार जो बाइडेनले जर्जियाको मत गणनामा रिपब्लिकन उमेद्वार डोनाल्ड ट्रम्पलाई पछाडि पारेका छन् । एक प्रतिशतभन्दा कम मत गणना हुन बाँकी रहँदा बाइडेनले ट्रम्पलाई पछाडि पारेका हुन् ।
यो समाचार तयार पार्दासम्म बाइडेन ९ सय १७ मतले अगाडि बढेका छन् । जर्जियामा १६ इलेक्टोरल मत छ । राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनलाई अब ६ इलेक्टोरल मत मात्र आवश्यक छ ।
अमेरिकाका ५० मध्ये पाँचवटा राज्यको मात्र मत परिणाम आउन बाँकी रहँदा बाइडेनले २ सय ६४ इलेक्टोरल मत प्राप्त गरेका छन् । कम्तीमा २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उमेद्वार राष्ट्रपतिमा निर्वाचित हुन्छ । जर्जियामा सन् १९९२ यता डेमोक्रयाटले जित्न जित्न सकेका छैनन् ।
डेमोक्रयाट उमेद्वारका रुपमा बिल क्लिन्टनले सन् १९९२ मा अन्तिमपटक जर्जियामा जित हात पारेका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पको निर्वाचन प्रतिनिधिहरुले निर्वाचनको फिलाडेल्फियाको मतगणना आपतकालीनरुपमा रोक्न गरेको माग अदालतले खारेज गरिदिएको छ । ब्लुमबर्गका अनुसार अमेरिकाको जिल्ला अदालतका न्यायाधीश पाउल डायमण्डले ट्रम्पको निर्वाचन अभियानका प्रतिनिधिले अदालतमा राखेको माग खारेज गर्ने निर्णय गरेका हुन् ।
ट्रम्पको अभियानका प्रतिनिधिले बिहीबार फिलाडेल्फियाको कन्ट्री बोर्ड अफ इलेक्सनले गलत नियम राखेर ट्रम्पको अभियान र रिपब्लिकन पार्टीका प्रतिनिधिलाई बाँकी रहेको र चिठीमार्फत् खसालिएको मतगणनाको अवलोकन गर्न नदिएको भन्दै मतगणना रोक्न माग गरेका थिए ।
बाइडेनले भने मतगणना रोक्न गरिएको माग अस्वीकार गर्दै दुई पार्टीको सम्झौतामा यो विषय टुङ्गयाउन आग्रह गरेका थिए । उनले मतगणना भइरहेको स्थानमा प्रत्येक पार्टीका ६० प्रतिनिधि जान पाउने बताएका थिए ।