काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच जना सचिवालय सदस्यको अनौपचारिक बैठक बसेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ ।
आधाभन्दा धेरै सचिवालय सदस्यको उपस्थित रहेको अनौपचारिक बैठकले पार्टीको बैठक बोलाउन अध्यक्ष ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
‘यसअघि, प्रचण्डले प्रधानमन्त्री ओलीलाई पटक–पटक बैठक बोलाउन आग्रह गरे पनि उहाँले नमानेकाले आज अनौपचारिक बैठक बसेको हो’, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले औपचारिक बैठक बोलाएमा पार्टी फुट्ने सिलसिला त्यहीबाट शुरु हुने बताएको हुनाले उहाँकै सहमतिमा अनौपचारिक बैठक बसेको स्पष्ट गर्नुभयो ।
‘साथै, शनिबार प्रधानमन्त्री ओलीलाई ामुहिक रुपमा भेटेर नै पार्टीको बैठक बोलाउन आग्रह गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।
बैठकमा प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए । तर, प्रधानमन्त्री ओलीसहित, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा भने अनुपस्थित थिए ।
पार्टी केन्द्रीय कार्यालयबाट दुई अध्यक्ष ओली र प्रचण्डबाहेक सचिवालयका ७ जनालाई बैठकका विषयमा सन्देश पठाइए पनि अध्यक्ष ओलीसहित चार सचिवालयका नेता उपस्थित भएका थिएनन् ।
प्रचण्डले अर्का अध्यक्ष ओलीसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गर्न आज सचिवालयका आफ्ना समूहका सदस्यहरुँंग छलफल गर्न लाग्नुभएको स्रोतको भनाइ छ ।