काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई आकस्मिक समयमा बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले केही बेर संसद् अवरोध गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद हरि ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले ढकालको माइक काट्नुभएको थियो ।
त्यसपछि रास्वपा र राप्रपा सांसदहरू उठेर होहल्लासहित अवरोध गर्न पुगे । उनीहरूले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाए ।
त्यस क्रममा सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिनुभयो । उहाँले सांसद हरि ढकालले विद्युत् महसुलको विषय उठाउने बित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाउनुभयो ।
त्यसपछि ढकालले बिजुलीको लाइनको महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन आग्रह गर्नुभयो।