काठमाडौं। गृहमन्त्री रमेश लेखकले अहिलेको टीआरसी विधेयक पीडितमैत्री रहेको दाबी गर्नुभएको छ। आज ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले सबै पीडितलाई एक ठाउँमा लिएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो।
गृहमन्त्री लेखकले कानुन जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताउनुभयो। सबैभन्दा बढी कैदीबन्दी जबरजस्ती करणीका रहेको बताउनु भयो। उहाँले बलात्कारका घटना बढेकाले यसको सजाय कम नहुने बताउनुभयो।
उहाँले भन्नुभयो,‘कारागारमा सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका छन्। रेप भनेको रेप नै हो। अरू अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्धका अपराधहरू छन्, कोही राज्य विरुद्धका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्धको अपराध हो। यी पीडाहरूलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।’