काठमाडौं । नेपालसँग नजिकको समदूरि रहेको बंगलादेशमा सत्तापलट भएर प्रधानमन्त्री शेख हसिनाले देशै छोड्नु परेपछि विश्वमा चर्चा जारी छ । यतिसम्मकी विश्वका कुनैपनि देशहरूले उनलाई औपचारिक रूपमै शरण दिएको घोषणासम्म गर्न सकेका छैनन् । अहिले भारतमा बस्दै आएकी हसिनालाई त्यहाँको सरकारले समेत कुनै जानकारी गराएको छैन । एक शासक निरन्तर निरंकुश बन्दै गयो भने जनतामा आक्रोश पलाउँदा यतिठूलो पृथ्वीमा पनि बस्ने स्थानका लागि भौँतारिनु पर्ने सन्देश हसिनाको बहिर्गमनले देखाएको छ । राजनीतिक विश्लेषक महेश भट्टराईले अदृश्य शक्तिहरूले अल्पविकसित देशहरूमा अस्थिरता फैलाउन रणनीति बुन्ने गरेको दाबी गर्नुभयो । शासक सही बाटोमा नभए मुलुकले दुःख पाउने उहाँको धारणा छ ।
बंगलादेशको राजनीतिमाथि विभिन्न चर्चा चलिरहेका बेला नेपालमा यो व्यवस्थाले समृद्धि आउनै नसक्ने नेताहरूको दाबी रहेको छ । स्वतन्त्र सांसद समेत रहेका डा. अमरेश कुमार सिंहले हरेक क्षेत्र दलीयकरण भएकोले भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो । राजनीतिदेखि कर्मचारी तन्त्रसम्म अराजकताले प्रशय पाइरहेको उहाँको भनाइ छ ।
जनतामा निकै वितृष्णा बढिरहेका बेला नयाँ वैकल्पिक शक्तिको समेत खोजी भइरहेको छ । तर, सबै तिर बिग्रियो, हुँदैन, सकिँदैन खत्तममै भयो भन्नेजस्ता निराशाले मुलुकलाई थप घाटा हुने माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको भनाइ रहेको छ । निराशाहरूलाई चिर्दै आशाको सञ्चार गर्नुपर्ने उहाँको तर्क छ ।
नेपाली नागरिकहरूमा पनि राजनीतिप्रति उकुसमुकुस कायम रहेको छ । नेताहरूले बोल्ने बढी काम नगर्ने प्रवृत्तिका कारण नयाँ शक्तिको आगमन समेत भइरहेको देखिन्छ । तत्काल बंगलादेशजस्तै आन्दोलनको आँधीबेहरी नआएपनि मतदान मार्फत जनताले आफ्नो असन्तुष्टि पोख्नेछन् । यो सिलसिला हिजोदेखिनै शुरु हुँदै आएको छ । अब कांग्रेस एमालेका लागि सच्चिने की सक्किने दुई विकल्प प्रस्तुत भएका छन् ।