Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

हवाई सुरक्षा सुधारबारे छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन

हवाई सुरक्षा सुधारबारे छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन

  • बिहिवार, श्रावण २४ २०८१

  • 524
    SHARES

  • हवाई सुरक्षा सुधारबारे छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन
    काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भए/नभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । साथै १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न समेत पर्यटन समितिले निर्देशन दिएको छ । 
     
    आज बसेको समितिको बैठकमा सरोकारवालासँगको छलफलपछि समिति सभापति राजकिशोर यादवले मन्त्रालयलाई यस्तो निर्देशन दिएको जानकारी दिनुभयो । साथै यसअघिका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित प्रतिवेदनहरू उपलब्ध गराउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । 
     
    समितिले नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदल मार्फत पेस भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनहरू के कुन अवस्थामा रहेका छन् सो को जानकारी सहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन पनि नेपाल सरकार र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । 
     
    बैठकले २०८० साल पुस ५ गते हवाई सुरक्षाबारे सरकारलाई समितिले दिएको निर्देशन कार्यान्वयन नभएकाले कार्यान्वयनका लागि स्मरण गराएको छ । साथै नेपाल हवाई नीति २०६३ देखि कार्यान्वयनमा आएपनि हवाई उड्डयन सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न निर्देशन दिएको सभापति यादवले जानकारी दिनुभयो । 
     
    समितिले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना सम्बन्धमा पर्यटन मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेर यस्तो निर्देशन दिएको हो । 
     
    समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसद्मा पेस गर्न/ गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । 
     
    पछिल्लो समयमा निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटना पिच्छे छानबिन समितिहरू बन्ने गरेका भएपनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको समितिको निष्कर्ष छ ।
     


    बिहिवार, श्रावण २४ २०८१०४:११:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij