काठमाडौं । मुलुकले स्थिर सरकार नपाउनुको पीडाका बीच नयाँ समीकरण बनेसँगै अर्को ठूलो समस्या भोगिरहनुपरेको छ । केन्द्रको संरचना भत्किँदा प्रदेश भताभुंग बनेको छ भने नेपालबाट विश्वका विभिन्न देशमा नियुक्ति लिएर जाने राजदूतहरू सरकारैपिच्छे परिवर्तन हुने गरेका छन् । केही समय अघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जानुको पूर्वसन्ध्यामा त्यहाँका राजदूतलाई हटाइएको थियो । पछि प्रचण्डले आफूलाई ख्याल नभएको गैह्रजिम्मेवार जवाफ दिएर बचेका थिए । यद्यपि त्यसको निकै आलोचना भयो । अहिले पनि ठिक त्यही भएको छ । विभिन्न देशमा रहेका राजदूतहरूलाई सरकारले फिर्ता बोलाएको छ । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राजनीतिक दलहरूले कार्यकर्ता व्यवस्थापन गर्न यस्ता कूटनीतिक नियुक्तिलाई हतियार बनाएको बताउनुभयो । जसले मुलुकको अन्तर्राष्ट्रिय लज्जा भइरहेको उहाँको दाबी छ ।
राजनीतिक दलहरू आउने जाने क्रम चलिरहन्छ तर सिंगो संरचनालाई भताभुंग तुल्याउने घृणित खेलमा नेता, कार्यकर्ताहरू लागेका छन् । कुनैपनि नियुक्तिमा विज्ञ व्यक्तिले मौका पाएका छैनन् । त्यसमा कसैको बुहारी, श्रीमती, छोरीलाई पठाउने प्रचलन व्याप्त रहेको छ । प्राज्ञिक, अनुभवी र ज्ञान भएको व्यक्ति राजदूत नियुक्त हुँदा मात्रै मुलुकको पहिचान र नीति सही ठाउँमा पुर्याउन सक्दछ । यद्यपि कार्यकर्ता व्यवस्थापनका लागि विभिन्न नियुक्ति गरिँदा अन्तर्राष्ट्रिय लज्जा भइरहेको छ । पछिल्लो समय जुटेको गठबन्धनले संविधान संशोधनका नाममा अराजकता निम्त्याउन नहुने राजनीतिक विश्लेषक अरुण सुवेदीको भनाइ छ ।
राजनीतिक विश्लेषक होमराज आचार्यले नेपालमा वैकल्पिक शक्ति नै नरहेको दाबी गर्नुभयो । नयाँ दल आएपनि विकल्प प्रस्तुत गर्न नसकेको उहाँको भनाइ छ ।
अहिलेको विद्यमान गठबन्धनबाट केही आशा, भरोसा र विश्वास भएतापनि नियुक्त भएका विवादित मन्त्री र स्वार्थ बाझिने मन्त्रालयहरूमा समेत उपस्थिति रहेको भन्दै आलोचना हुने गरेको छ । सरकार निर्माण भएको एकसय दिनसम्म समृद्धिका केही लक्षण देखिए यो सहकार्यको औचित्य पुष्टि होला नभए स्वार्थको गठजोड कहलिनेछ ।