काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले विश्वासको मत पाउनु भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका लामाले आज बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीमा विश्वासको मत पाउनुभएको हो। लामा साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
११० सदस्य रहेको बागमती प्रदेश सभामा मतदानमा उपस्थित १०३ जना प्रदेश सभा सदस्यमध्ये पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराउनुभयो ।
विश्वासको मतका लागि भएको मतदानमा तीन जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए। मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको थियो ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टी मतदानमा तटस्थ रहेका थियो ।