काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष नपुग्दै राजीनामा दिने बताउनु भएको छ। आज सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उहाँले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने बताउनु भयो।
उहाँले त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म नेतृत्व गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो,‘हामी डिस्टिनेशन तोकेर हिँडेका छौँ। नेपाली जनतालाई जैविक र मानवीय आवश्यकताको यथोचित न्यायोचित परिपूर्ति गराउनेमा सरकारको फोकस हुन्छ।’
सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि नै सरकार बनेको दाबी गर्नुभयो। उहाँले स्थिर र स्थायित्व भएको सरकार भन्दै गतिशील स्थायित्वको पक्षमा रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो।२ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु।गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन, त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो। यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो। ढल्ने त के ढलपल पनि हुँदैन।’