काठमाडौं। सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापा बर्खास्त हुनुभएको छ। मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आफ्नो निर्देशन नमानेका कारण थापालाई हिजो बर्खास्त गर्नुभएको आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलले बताउनुभयो । बर्खास्तमा पर्नु भएकी थापा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सरकारमा हुनुहुन्थ्यो। सो पार्टीले नयाँ समीकरणलाई समर्थन गरेको छ।
सोहीअनुसार थापाले हिजो आइतबार र यसअघि अधिवेशन सुरु भएको दिन साउन ८ को प्रदेश सभा बैठकमा सहभागिता जनाउनु भएपछी बर्खास्त गरिएको हो। सुदूरपश्चिममा नेपाली काँग्रेस र नेकपा (एमाले)सहितका दलले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाले साउन ८ गतेदेखि प्रदेश सभाको विशेष अधिवेशन बोलाउनु भएको छ।
सरकारले सो बैठक अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि आव्हान गरिएको भन्दै प्रदेश सभामा सहभागी नहुने नीति लिएको छ। सङ्घीय सरकारको समीकरण फेरबदल भएपछि प्रदेशमा एमालेले समर्थन फिर्ता लिएकोले त्यहाँको सरकार अल्पमतमा छ।