काठमाडौं। देशमा जनताले राजनीतिक स्थायित्व चाहेका छन्। छिनछिनमा हुने सरकार परिवर्तनले दलहरुप्रतिको विश्वासमा कमी आएको बेला अहिले दुई ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले लगायत केहि साना दलहरु मिलेर बनेको नयाँ सरकार छ।
सहकार्य अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बन्नुभएको छ। भने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ।
यो सहकार्यले राजनीतिक स्थिरता, विकास र समृद्धिलाई मलजल गर्ने अपेक्षा लिइएको छ। तर आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्वको कुरा गर्नु व्यर्थ हुने टिप्पणी हुन थालेको छ।
नेकपा एमालेका नेता भीम रावलले कांग्रेस र एमाले राजनीतिक स्थायित्वको लागि मिलेको भन्नुको कुनै अर्थ नभएको टिप्पणी गर्नुहुन्छ । बाँकी तीन वर्ष पनि ओली र देउवाबीच आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्वको कुरा गर्नु व्यर्थ हुने टिप्पणी उहाँको छ ।
बर्तमान सरकारका अगाडि चुनौती पनि धेरै छन्। किनकि यसअघि देशमा धेरै सरकार बने तर स्थायी हुन सकेनन्। एकदलले अर्को दललाई समर्थन गर्दै गए र धोका पनि दिदै गए।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दुई ठुला दल कांग्रेस एमाले समिकरणको सरकारलाई अवसर र चुनौती दुवै भएको बताउनुहुन्छ। गठबन्धनमा भएका सहमती र समझदारी अनुसार नै सरकार चल्ने दाबी गर्दै उहाँले आगामी निर्वाचनसम्मै सोहि अनुसार अगाडि बढ्ने स्पष्ट पार्नुभएको छ ।
यता पुष्पलालको जन्म शताब्दीको अवसरमा बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छरिएर रहेका कम्युनिष्टहरु को सही को गलत भन्ने छुट्याउन गाह्रो रहेको बताउनुहुन्छ।
कम्युनिष्टहरु सत्ता, भत्ता, पैसा, पदको लागि जे पनि गर्न तयार भएको आरोप यादवको छ। दुई दिनको सरकारको लागि राजावादी, कांग्रेस सबैसँग चलेको छ। यो सबै अवसरवादका लागि भएको हो,उहाँको टिप्पणी छ।
वर्तमान सरकार अवसर र चुनौतीका बीच बृहत्तर समझदारी र एकअर्काको दुष्टिकोणलाई राम्रोसँग बुझेर निर्णय गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ ।देश र जनतालाई केन्द्रमा राखेर पार्टी, व्यक्तिभन्दा पनि माथि उठेर दुवै दलले काम गर्नुपर्ने सुझाव र माग जनताको छ ।