काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । आफन्तले दिएको विवरण र शव परीक्षण रिपोर्टका आधारमा मृतकको पहिचान गरी आफन्तको जिम्मा लगाउन लागिएको हो ।
शुक्रबार अपराह्नसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरूले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार पहिचान भइसकेका शवहरू आजै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ । ‘पहिचान भइसकेका शवहरू आजै आफन्तलाई जिम्मा लगाउँछौँ । पहिचान नभएको हकमा मात्रै यहाँ राखिन्छ,’ चौधरीले भन्नुभयो ।
बुधबार बिहान ११ः११ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।